अनेसासद्वारा अमेरिकी सरकारलाई पत्र
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालका कोभिड पीडितको उपचारका लागि विश्व समुदायमाझ अपिल गर्ने भएको छ । अनेसासले विश्वभर रहेको आफ्ना च्याप्टरमार्फत् सम्बन्धित देशको विदेश मन्त्रालयमा नेपालका लागि सहयोग गर्न अपिल गरेको हो ।
यसको सुरूवात अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लेन्डिनलाई मङ्गलबार पत्र पठाएर भइसकेको छ ।
अमेरिकाको विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने क्रेग डेनिसनसँग कुरा गर्दै अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्णकुमार गिरीले संस्थाको तर्फबाट इमेल पत्र दर्ता गराएका हुन् । डेनिसनले गिरीसँगको कुराकानीका क्रममा अमेरिकाले अक्सिजन र आवश्यक उपचारका लागि चाहिने सामग्रीहरू पठाउन पहल गरिसकेको र छिट्टै खोप उपलब्ध गराउने सन्दर्भमा पनि कुराकानी भइरहेको बताएका छन् ।
उनले नेपालमा कोभिडका कारण भइरहेको मानवीय क्षतिप्रति अमेरिकी सरकार दुखी भएको पनि बताए ।
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षताको हालै बसेको कार्यसमितिको बैठकले नेपालमा नेपालीहरूले भोग्नुपरेको दु:खद परिस्थितिप्रति दुख व्यक्त गरेको छ । यो अप्ठ्यारो परिस्थितिबाट छिट्टै मुक्ति मिल्नेमा पनि समाज आशावादी रहेको छ ।