अनेसासमा, केन्द्रीय कार्यसमतिलाई परामार्श, सुझाव, सल्लाह, सहयोग र मार्गदर्शन गर्ने हेतुले विशिष्ट व्यक्तित्वहरू सम्मिलित बोर्ड आफ ट्रस्टी गठन गर्ने व्यवस्था छ । यसमा अनेसासका पूर्व पदाधिकारीहरू, समाजसेवी, उदात्त मनका कलासाहित्य साधक र विद्वान अध्येताहरू रहने प्रचलन छ ।
१००० अमेरिकी डलर शुल्क तिरेर बोर्डको सदस्यता लिन सकिने छ । ट्रस्टीका सदस्यहरूबाट ट्रस्टीको कार्यसमितिको निर्वाचन सम्पन्न हुन्छ ।
बोर्ड अफ ट्रस्टीमा एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष, एक सचिव र एक कोषाध्यक्ष, एक पुरस्कार समिति अध्यक्ष तथा एक जना कार्यकारी सदस्य रहने प्रचलन छ । कार्यसमितिको कार्यकाल चार वर्षको रहन्छ ।
बोर्ड अफ ट्रस्टीको अध्यक्ष पदमा एउटै व्यक्ति दुईभन्दा बढी कार्यकालका लागि निर्वाचन हुन सक्ने छैन । एक ट्रस्टी सदस्यको कार्यकाल आजीवन हो तर सदस्यता एक व्यक्तिबाट अर्कोका सट्टा हुन भने सक्दैन । बोर्ड अफ ट्रस्टीले केन्द्रीय कार्यसमितिसँग निकटको समन्वय गरी कार्य सम्पादन गर्दछ र केन्द्रीय कार्यसमितिले बुझाएको वार्षिक योजनाको पुनरावलोकन गर्ने तथा प्रस्तवित कार्यक्रमले संस्थाको मान अथवा कोषमा कुनै प्रकारको व्यवधान निम्त्याउने छैन भनी सुनिश्चित गर्दछ । बोर्डले नयाँ नीति बनाउने र केन्द्रीय कार्यसमितिलाई दिशानिर्देश गर्ने काम पनि गर्दछ । यसको कार्यान्वयनको जिम्मा भने केन्द्रीय कार्यसतितिको हुन्छ ।
सल्लाहकार समितिका सदस्यको नियुक्ति, आवश्यकताअनुसार बोर्ड अफ ट्रस्टीले आफैँ गर्दछ । संस्थाको लक्ष्य अथवा उद्देश्यमाथि कतै सम्झौता भएको बुझिएमा बोर्ड अफ ट्रस्टीले गुनासो सुन्ने समिति अथवा न्यायिक समिति गठन गर्दछ ।