अनेसास केन्द्रीय सचिवालय उद्घाटन समारोहमा प्रस्तुत केन्द्रीय अध्यक्षको शुभकामना मन्तव्य
२९ असार, २०७८ (२०८ औँ भानु जयन्ती)
आज हामी अनेसासको सचिवालयलाई औपचारिकता दिने सन्दर्भमा यहाँ जुटिरहँदा नेपाली साहित्य जगत्ले आज आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती पनि मनाइरहेको छ । एक विशाल साहित्यिक परिवार भएको नाताले अनेसासको तर्फबाट आदिकवि भानुभक्त आचार्यमा हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु । म आशा गर्छु,, भानुभक्त आचार्यको प्रेरणाले नेपाली साहित्य अझै सम्पन्न र विस्तारित हुँदै जानेछ । साथै, भानु अध्ययनले पनि नयाँ दिशा र गति पाउनेछ ।
जहाँसम्म सचिवालयको स्थापना र सञ्चालनको प्रश्न छ, यसको आवश्यकता धेरै पहिले नै महसुस गरिएको हो । तर विविध कारणलेहामीले यसलाई मूर्तरूप दिन सकेका थिएनौँ । आज आएर हामी यसलाई मूर्तरूप दिन सफल भएका छौँ । यसो भनिरहँदा बिगतमा डायस्पोरा डेस्क स्थापनार्थ पूर्व अध्यक्षहरू राधेश्याम लेकाली, पदम विश्वकर्मा र ट्रस्टी अध्यक्ष गीताज्यूले गर्नुभएको गरिमामय योगदानको स्मरण गर्न चाहन्छु । स्थानपनाको करिब तीन दशकमा अनेसास एउटा विशाल वैश्विक सङ्गठन भएको छ । दैनिकजसो यसका केही न केही कार्यक्रम चलिरहन्छन्। अनुसन्धान र प्रकाशन पनि निरन्तर छन्। साथै, साङ्गठनिक र कार्यालयीय कार्यहरू पनि निरन्तर चलिरहन्छन्। अनेसास परिवारको ठूलो हिस्सा नेपालसँग सम्बन्धित
छ । अस्थायी वा स्थायी रूपमा नेपालबाहिर बस्ने सबै नेपाली साहित्यकारहरू नेपाली भूमिसँग नैसर्गिक रूपमा गाँसिएका छन्। साथै, नेपाली साहित्यका मूर्त–अमूर्त केन्द्र, भाषा–साहित्यका स्थापित संस्था, त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाली साहित्यकारहरूको विशाल सङ्ख्या नेपालमै रहने हुनाले अनेसासका अधिकांश गतिविधिमा नेपालले आधार दिँदै र थेग्दै आएको छ । यस सन्दर्भमा नेपालमा अनेसासको सचिवालय स्थापित हुनु अनिवार्य छ भन्ने कुरा स्वतः सिद्ध भएको छ । हामी सबैलाई थाहा छ, अनेसासको वैश्विक परिवार तथा नेपाललाई जोड्ने पुल भनेको अनेसासको नेपाल च्याप्टर हो । नेपाल च्याप्टरका प्रतिभाशाली र जुझारु साथीहरूको सक्रियतामा यो काम हुँदै पनि आएको छ । तर सचिवालयको अभावमा समन्वयको यो काम कठिन पनि हुँदै आएको थियो । कसैले अनेसासको अभिलेख, यससँग सम्बन्धित सूचना, यसका कार्यक्रम र प्रकल्प, सदस्यता, कार्यक्रम तथा गतिविधका बारेमा जानकारी पाउन खोज्दा व्यक्तिलाई नै भेट्नुपर्ने बाध्यता थियो । तर, अब भनेयस कुराको सहजीकरणका लागि नेपालमा अनेसासको सचिवालय गठन हुने भएको छ, जसले यी सम्पूर्ण कार्यलाई सरल र सहज तुल्याउने छ ।
सचिवालय काठमाडौँमा अवस्थित रहनेछ । सचिवालयले अनेसासको केन्द्र, बोर्ड अफ ट्रस्टी र च्याप्टर परिवारसँग नेपाली साहित्यकारहरूलाई जोड्ने, सूचना प्रवाह गर्ने, अभिलेख राख्ने तथा पूर्ण रूपमा सम्पर्क कार्यालयको रूपमा काम गर्ने दायित्व लिएको छ । स्पष्ट कार्यविधि बनाएर सचिवालयलाई सञ्चालन गरिनेछ । सचिवालयलाई कार्यलयीय कामको अतिरिक्त डायस्पोरा अध्ययन केन्द्रको रूपमा विकास गरिँदै लगिनेछ ।
अनेसास केन्द्रीय कार्य समितीको मातहतमा यसको व्यवस्थापन अनेसास नेपाल च्याप्टरले गर्नेछ । अन्त्यमा, अनेसास केन्द्रीय कार्यसमितिको तर्फबाट अनेसास केन्द्रीय सचिवालय, डायस्पोरा अध्ययन केन्द्र तथा नेपाल च्याप्टर कार्यालय व्यवस्थित एवम् निरन्तर रूपमा अगाडि बढ्ने विश्वासको साथ शुभकामना व्यक्त गर्दछु । धन्यवाद !
प्रकाश पौडेल ’माइला’
अध्यक्ष
अनेसास, केन्द्रीय कार्य समिति