अनेसासले वार्षिक रूपमा कविता महोत्सव गर्ने
अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तीको अवसर पारेर 'अनेसास कविता महोत्सव' आयोजना गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल 'माइला'को अध्यक्षतामा हालै सम्पन्न बैठकले वार्षिक रूपमा कविता महोत्सव गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा कविता महोत्सव आयोजक समिति गठन गरिएको छ । समितिमा अनेसासका महासचिव सर्वज्ञ वाग्ले, र सदस्यहरू डा. रेणुका सोलु, प्रमोद सारङ्ग र महेश्वर शर्मा रहेका छन् ।
अध्यक्ष माइलाले स्रष्टाहरूलाई निरन्तर लेखनमा आबद्ध गर्दै थप उर्जा प्रदान गर्ने अभिप्रायले यस किसिमको महोत्सव आयोजना गर्न लागिएको बताउँदै भने, "विगतमा पनि प्रतियोगिताहरू नभएका होइनन्, तर अबदेखि हुने प्रतियोगितालाई व्यवस्थित र दीर्घकालीन बनाउने हाम्रो उदेश्य रहेको छ । जहाँ राष्ट्रकविप्रति सच्चा सम्मान पनि प्रकट हुनेछ ।"
त्यस्तै, बोर्ड अफ ट्रस्ट्रीकी अध्यक्ष गीता खत्रीले अनेसासको यस किसिमको नयाँ कार्यको प्रशंसा गर्दै भनिन्, "संसारभर छरिएर रहेका स्रष्टाहरूलाई गोलबद्ध गर्दै लैजान महोत्सवले थप बल पुर्याउने छ । केन्द्रीय समितिको यो निर्णयले पक्कै दीर्घकालीन प्राभाव छोड्नेछ ।"
सन् १९९१ मा स्थापना भएको अनेसासको अहिले विश्वभरि पाँच दर्जन च्याप्टरहरू सक्रिय छन् । त्यस्तै, दुई हजार दुई सयभन्दा धेरै आजीवन सदस्य रहेका छन् ।
महोत्सव राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्म जयन्तीको अवसर पारेर आयोजना गरिने छ । उक्त महोत्सवमा विश्वभरि फैलेर रहेका नेपाली भाषीले सेप्टेम्बर ६ तारिक भित्र inls.poemcontest@gmail.com मा कविता पठाइ सहभागिता जनाउन सक्ने छन् ।