Message From the President

अध्यक्षको मन्तव्य
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का सर्जक समादरणीय संस्थापक तथा ट्रष्टीज्यूहरु, विभिन्न हिसावले गोडमेल गर्ने आजीवन मालीहरु, साहित्यिक स्रष्टा तथा द्रष्टा व्यक्तित्वहरु, साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरु तथा अनेसासका सम्पूर्ण मित्रहरु !
"पृथ्वीभित्र अडेमात्र पुग्यो शिशिरमा जरा,
पालुवा यसमा त्यो अर्कै वसन्त चढाउला"
ध्रूव नाटकमा नेपाली नाट््यसम्राट बालकृष्ण समज्यृ्ले यसो भनेजस्तै आजभन्दा ठिक २१औं शिशिर अगाडि नेपाली डायास्पोरामा आफ्ना भाषा, साहित्य, कला र संस्कृतिको जगेर्नार्थ स्थापित अनेसासले विविध शिशिर र वासन्ती घुम्तीहरु पार गर्दै यो गृष्म ऋतुमा सन् २०१२—१४ को कार्यावधिका लागि केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन तथा २१औ साधारण सभा समेत सम्पन्न हुनु सम्पूर्ण साहित्यिक मालीहरुलाई गौरवको विषय भएको छ । शिशिरहरुले जति सुकै कठ्याङ्ग्रिने प्रहार दिए पनि तिनलाई के थाह वसन्त र शारदीय आभाले अनेसासलाई अझ बढी कल्कलाउदै, फुल्न र फल्नका लागि निरन्तर उर्जाशील टेवा दिइरहेका हुन्छन् ! अनि फुलको आँखामा फुलै संसार भने जस्तै शिशिरहरु छन् र त वसन्त र शरदले आफ्नो सार्थकताको पुष्टि गर्ने सुअवर पाउँछन् । यसैले सबै शिशिर, वसन्त, गृष्म र शरदादिको समष्टिलाई पुनः साहित्यिक अभिवादन । आउनुहोस् सबै सदा झैं जुटौं र अनेसासको फाँटलाई अझ बढि व्यापक र हरिलोभरिलो पार्न हातेमालो गरौं । समुच्चताको परिचायक बनिरहन सकौं भन्ने हाम्रो अभ्यन्तरदेखिकै कामना गरौं । अतः यहाँहरुले वसन्त भएर साहित्यिक होस्टे भन्नुहुने छ, हामीले समवेत स्वरमा शरद भएर हैंसे भन्ने वाचा गर्दछौं ।
नेपाली डायास्पोरामा अग्रजहरुको दुई दशक भन्दा लामो पौरखी इतिहास बोकेको अनेसासले प्रवासमा बसेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको बिकास र बिस्तारका लागि खेलेको भुमिका जति महत्वपूर्ण छ यसलाई संरक्षण, संवद्र्धन, परिस्कार र परिमार्जन गदै अगाडि बढ्नु त्यति नै चुनौतिपूर्ण छ । आज बिश्वका विभिन्न भागमा अनेसासका च्याप्टररुपी हाँगाहरु खुलेर नेपाली भाषा र साहित्यलाई विश्वजनिन बनाउन र यसको अस्तित्वात्मक मानक निर्माणमा अमृ्ल्य योगदान गर्दै आइरहेको छ । हाम्रो यही एकलब्य निष्ठाले गर्दा अब संसारबाट नेपाली भाषा, साहित्य कहिल्यै पनि विलुप्त वा हराउने अवस्था आउने छैन् भन्नुमा कुनै अत्युक्ति नहोला ।
संयुक्त राज्य अमेरिकाको डी.सी. क्षेत्रमा नेपाली साहित्यका अग्रजहरु मार्फत दूरदर्शी विचारद्वारा अभिसिञ्चत भएर अङ्कुरित यो साहित्यिक विरुवा लहराउँदै, झ्याङ्गिदै विशालेतर हुँदै सुदूर गन्तव्यमा यात्रारत छ । आजीवन यात्री भनौं या मालीहरुको संख्या नै ५५५ भन्दा बढी पुग्नुलाई हुने विरुवाको चिल्लो पात भन्ने व्यहोरा प्रमाणित भएको मान्न सकिन्छ । सबै आजीवन सदस्य लगायत अन्य साहित्यप्रेमी तन मनहरुले विना पारिश्रमिक नेपाली भाषा, साहित्य, कलाको विकासमा निरन्तर लागिरहनु हामी सबैका लागि स्तुत्य विषय हो । आजीवन मालीहरुको बृद्धि संगै आँखाभरी नेपाल र मुटुभरी साहित्यिक स्पन्दन बोकेका धेरै नेपाली सहृदयीहरुको रुचिको क्षेत्र नेपाली भाषाको विकास र विस्तार गर्नेतिर भएकोले यसलाई मलजल र गोडमेल गर्नका लागि केन्द्रीय कार्यकारिणी समितिको चयनमा आ—आफ्ना योजना सहित अगाडि बढ्ने आवधिक प्रक्रियामा हाम्रो योजनाले २०१२—१४ को अवधिका लागि श्रेष्ठता पायो जसका लागि म नवनिर्वाचित कार्यसमितिको तर्पmबाट सम्पृ्र्ण आजीवन साहित्यिक मालीहरु तथा यसमा संलग्न हुनुहुने सबैमा हार्दिक कृतज्ञाता पुनः दोहोर्याउन चाहन्छु ।
निर्वाचन त एक आवधिक चक्रिक प्रक्रिया मात्र हो भने साहित्यको सेवासुश्रुषा भनेको विभिन्न स्थानमा रहेर निरन्तर गरिने वैयक्तिक तथा सामूहिक मूल यत्न हो । अतः निश्चित प्रक्रियाका सन्दर्भमा केही समयका लागि विविधतामा बाँडिएका हामीबाट अब पुनः एकजुट भई नेपाली भाषा, साहित्यको बिकास र विस्तारमा उत्तिकै योगदान रहन जाने कुरामा दुई मत नहोला । हामी सबैको उद्देश्य एउटै, कर्तव्य एउटै अनि गन्तव्य एउटै भएकोले निर्वाचन कालमा भिन्न भिन्न डुङ्गामा रहेका हामी अब एउटै डुङ्गमा सामेल भएका छौं र हुनु पनि पर्छ; अनि यो नेपाली साहित्यिक यात्राको वहनालाई एकसाथ चलाउने छौं । त्यसैले त एकआपसमा टाढा नभई सामुहिक जिम्मेवारीताका साथ संगसंगै अघि बढ्ने योजना बनाएका छौं । अनेसासलाई सबैको राय, सल्लाह र साथ सधै आवश्यक परिरहन्छ भन्ने कुरा हामी सबैले मनन गर्नुपर्छ र गरेका छौं भन्ने यथार्थतमा छर्लङ्ग हुदै र पूर्ण विश्वास दिलाउँदै स्वयंमा पनि विश्वस्त रहेका छौं ।
पुनः सगरमाथा शिखरदेखि अष्ट्रेलियासम्म, साइवेरियादेखि क्यालिफोनिर्यासम्म, टोरन्टोदेखि मध्यपूर्वसम्म, सूर्योदयको देशदेखि फर्मोसा हुँदै अरबको उष्णतासम्म, अफ्रिका र आसामदेखि म्यानमारसम्म चारैतिर रहेर नेपाली जातीय भाषिक अभियानमा विभिन्न हिसाबले खट्नुहुने सबैलाई साहित्यिक नमन व्यक्त गर्दछु । यो नयाँ कार्यसमितिले आगामी दिनमा अझ सक्रिय रुपमा काम गर्नका लागि यहाँहरुको अमृ्ल्य सुझावको निरन्तर अपेक्षा राखेकी छु ।
धन्यवाद ।
गीता खत्री, केन्द्रीय अध्यक्ष
तथा सम्पृ्र्ण कार्यसमितिका पदाधिकारीहरु ।
Message from President

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का सर्जक समादरणीय संस्थापक तथा ट्रष्टीज्यूहरु, विभिन्न हिसावले गोडमेल गर्ने आजीवन मालीहरु, साहित्यिक स्रष्टा तथा द्रष्टा व्यक्तित्वहरु, साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरु तथा अनेसासका सम्पूर्ण मित्रहरु !More
Highlights
INLS Social Network
- Youtube
Donation/Special Fund
-
There is no upcomming Events
Past Events
Announcement


